रौतहट । सामाजिक सञ्जाल फेसबुकमा हतियार प्रदर्शन गरिएको सामग्री सार्वजनिक गरेको आरोपमा रौतहटको कटहरिया नगरपालिका–५ का उमर फारूक पक्राउ परेका छन्।
फारूकलाई मंगलबार इलाका प्रहरी कार्यालय कटहरियाबाट वरिष्ठ सई जयप्रकाश साहको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडामा बुझाएको जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले फारूक पक्राउ परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्राप्त विवरणअनुसार फारूकले केही समयअघि आफ्नो फेसबुकमा हतियार प्रदर्शन गरिएको तस्बिर वा सामग्री सार्वजनिक गरेका थिए। उक्त सामग्रीबारे प्रहरीले अनुसन्धान अघि बढाएको हो।
हतियारको वैधानिकताबारे अनुसन्धान जारी
सामाजिक सञ्जालमा प्रदर्शन गरिएको हतियार वास्तविक वा नक्कली के हो, त्यसको स्वामित्व कसको हो र कानुनी अनुमति लिएर राखिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान हुन बाँकी छ।
हालसम्म हतियार बरामद भएको वा त्यसको वैधानिकताबारे प्रहरीले आधिकारिक विवरण सार्वजनिक गरेको छैन। प्रहरीले अनुसन्धान पूरा गरेपछि घटनाको थप विवरण खुल्ने अपेक्षा गरिएको छ।





