बारा । इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत प्रहरी हवल्दार अनिरुद्ध यादवमाथि तस्करीमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूसँग आर्थिक साँठगाँठ गरी अवैध कारोबारमा सघाएको तथा मालवाहक गाडीबाट रकम असुली गरेको गम्भीर आरोप लागेको छ।
करिब ७–८ महिनादेखि घुमुवा प्रहरीका रूपमा परिचालित यादवले सिमरा–पथलैया सडकखण्डमा सञ्चालन हुने विभिन्न ट्रान्सपोर्टका मालवाहक गाडीलाई चेकजाँच गर्ने बहानामा अवैध रूपमा रकम उठाउने गरेको प्रहरी तथा व्यापारिक स्रोतको दाबी छ।
बारा र पर्साका विभिन्न सीमावर्ती नाकाबाट भित्रिने भनिएका अवैध सामान सिमरा–पथलैया हुँदै काठमाडौं, हेटौंडा, पोखरालगायतका सहरमा ढुवानी हुने गरेको र त्यस्ता सामान बोकेका गाडीलाई सहज आवागमन गराउन आर्थिक लेनदेन हुने गरेको स्रोतको आरोप छ। यद्यपि, यस विषयमा स्वतन्त्र पुष्टि तथा आधिकारिक अनुसन्धानको विवरण सार्वजनिक भएको छैन।
स्रोतका अनुसार, हवल्दार यादवले जितपुर, सिमरा तथा आसपासका क्षेत्रबाट ढुवानी हुने कपडा, बटर र खाद्यान्नलगायतका सामानको कारोबारसँग सम्बन्धित व्यक्तिहरूसँग आर्थिक लेनदेन गर्ने गरेको आरोप छ। स्रोतले सदाम, मुकेश, सरोज, निखिल, अरमान, अरुण र सहिमलगायतका व्यक्तिहरूको नाम उल्लेख गर्दै उनीहरूसँग असुली तथा सहयोगको सम्बन्ध रहेको दाबी गरेको छ।
यादवले यस्तो गतिविधि इलाका प्रहरी कार्यालय सिमराका प्रमुखको संरक्षण वा प्रभावमा रहेर गरेको आरोपसमेत स्रोतले लगाएको छ। कथित असुलीबाट प्राप्त रकम माथिल्लो तहसम्म पुग्ने गरेको आशंकासमेत व्यक्त गरिएको छ।
घुमुवा प्रहरीको जिम्मेवारी अपराध नियन्त्रण, सूचना संकलन तथा अवैध गतिविधिमाथि निगरानी गर्नु हो। तर, यही जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीमाथि तस्करीमा सघाएको र चेकजाँचका नाममा रकम असुली गरेको आरोप लाग्नु गम्भीर विषय हो।
यस विषयमा प्रहरी हवल्दार यादवसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। आरोपबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख तथा सम्बन्धित प्रहरी निकायको आधिकारिक धारणा प्राप्त हुन बाँकी छ। सम्बन्धित पक्षको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ।
Categories
समाचार
सिमरा–पथलैया क्षेत्रमा घुमुवा यादवमाथि तस्करीमा सघाएको र अवैध असुली गरेको आरोप




