वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ल्याइएका आदित्यको तत्काल जटिल शल्यक्रिया गरी सघन उपचार गरिएको थियो। अस्पतालले उनको सम्पूर्ण उपचार निःशुल्क गरेको जनाएको छ।
२०८३ कात्तिक १४ गते बिहान करिब १०:३० बजे गोली लागेका आदित्यलाई बिहान ११:३० बजे अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। अस्पताल पुग्दा अत्यधिक रक्तस्रावका कारण उनको अवस्था निकै गम्भीर थियो। रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै गोलीले पेटभित्रका आन्द्रामा समेत व्यापक क्षति पुर्याएको थियो।
बालकको अवस्था गम्भीर देखिएपछि पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद र अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाहसहितको विशेषज्ञ टोलीले तत्काल जटिल शल्यक्रिया गरेको थियो।
शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्राका भाग पुनः जोड्ने, आन्द्रामा रहेका प्वाल मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउनेलगायतका जटिल प्रक्रिया सम्पन्न गरिएको थियो। साथै, दाहिने नितम्ब क्षेत्रमा लागेको गोलीसमेत निकालिएको अस्पतालले जनाएको छ।
शल्यक्रियापछि आदित्यलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो। आईसीयू इन्चार्ज डा. निरज केयाल र एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उनको उपचार अघि बढाइएको थियो।
उपचारका क्रममा रक्तचाप र रक्तसञ्चार कायम राख्न तीन प्रकारका औषधि, भेन्टिलेटरको सहायता, चार युनिट रगत र दुई युनिट फ्रेश फ्रोजन प्लाज्मासमेत आवश्यक परेको थियो। अस्पतालका चिकित्सक, नर्सिङ तथा प्राविधिक टोलीले चौबीसै घण्टा निगरानीमा राखेर उपचार गरेका थिए।
नेशनल मेडिकल कलेजले आदित्यलाई उपलब्ध गराएको आकस्मिक उपचार, जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रगत, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ। अस्पताल प्रशासनले उपचारबापत परिवारसँग कुनै शुल्क नलिएको जनाएको छ।
थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी उनलाई काठमाडौं लैजाने व्यवस्था मिलाएको थियो।
कात्तिक १५ गते बिहान ११:३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो।
अस्पतालबाट काठमाडौं स्थानान्तरण गरिएका आदित्यको स्वास्थ्यमा अहिले सकारात्मक सुधार देखिएको छ। प्राप्त पछिल्लो जानकारीअनुसार उनी भेन्टिलेटरबाट मुक्त भएका छन्। होसमा आएका आदित्यले आफैँ सास फेर्नुका साथै मुखबाट खाना खानसमेत थालेका छन्। उनी अहिले काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।
जीवनमरणको अवस्थामा अस्पताल ल्याइएका बालकको जटिल शल्यक्रिया, सघन उपचार, सम्पूर्ण उपचार निःशुल्क व्यवस्था तथा थप उपचारका लागि काठमाडौं स्थानान्तरणमा नेशनल मेडिकल कलेजले निर्वाह गरेको भूमिकालाई अस्पतालले आफ्नो चिकित्सकीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोडेको छ।





