वीरगंज । वीरगंजको लिंकरोडबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–२४ रामगढवाका विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३-०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल वीरगंज महानगरपालिका–१६ लिंकरोडस्थित सडक छेउमा पार्किङ गरिएको थियो।
कात्तिक १५ गते बिहान करिब ९ः३० बजे मोटरसाइकलको लक तोडी डोर्याउँदै भागिरहेको अवस्थामा प्रहरी टोलीले मोटरसाइकलसहित राकेश चौधरीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।





