वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया चेकपोस्टबाट चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कार्तिक १७ गते बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले BR05BK 4417 नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो।
प्रहरीले बरामद गरेका सामानमा ४ थान चम्चा, १ थान सिक्री, १ थान प्लेट, २ थान गणेश–लक्ष्मीको मूर्ति, ५ थान माछा, ३ थान हरिण, ४ थान कछुवा र १ थान गोरुको आकृति रहेका छन्। बरामद सामानको कुल तौल ३२३ ग्राम १३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।
बरामद सामानसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।





